नेपालमा शोषण, दमन, अन्याय, अत्याचार तथा परिपरिका विभेदहरू विद्यमान भएकै हुन् र त्यसलाई मिल्काउन दह्रै जनसंघर्षको आवश्यकता भएकै हो । तर पनि चीनका गाउँगाउँमा भएजस्तो युद्धसर्दारहरूको अत्याचार र दरिद्रताको पराकाष्ठा नेपालमा भएको अवस्था होइन । नेपालको शान्ति र सहिष्णुतापूर्ण परम्पराले तथा नेपालको विशिष्ट सामाजिक स्थितिले चिनियाँ क्रान्तिको नक्कलको कुरा उचित हुँदैनथ्यो । अझ ‘जनयुद्ध’को नाममा यसका संचालकहरूबाट अलिक बढी शक्ति दुरूपयोग भएको र क्रान्तिका पक्षधर हुनुपर्ने सर्वसाधारण जनता नै बढी पीडामा परेको, अत्याचारमा परेको तथा परिवार नै विभाजित हुन पुगेको स्थिति उपन्यासमा देखिन्छ । यस ‘जनयुद्ध’ले जुन वर्गलाई मुक्त गर्ने, सुख दिने भनेको त्यही वर्ग बढी चेपाइमा प¥यो, दमनमा प¥यो भन्ने देखाउँछ उपन्यासले । अन्याय, अत्याचार र विभेदले ग्रस्त समाज क्रान्तिबाट त गुज्रनै पर्छ, तर अधिक रक्तपातले महाभारतमा झैं लडाईं सकिँदा अन्यायमा विभेदमा परेका जनता पनि सकिने हुन् कि भन्ने चिन्ताले अन्यायीलाई अप्ठ्यारो पार्ने क्रान्ति गर्न सचेत गराउने प्रयासले लेखिएको माओवादी द्वन्द्वकालको चित्रण गरिएको उपन्यास हो ‘त्रिवेणी आमा’ ।
प्रतिक्रिया